सुदूरपश्चिम

एचआइभीविरुद्धको औषधिको प्रयोग

धनगढी । कैलाली जिल्लामा एक हजार २६१ जना एचआइभी सङ्क्रमितले यो रोगविरुद्ध एन्टी रेक्टोभाइरल (एआरटी)औषधि खाइरहेका छन् ।

आर्थिक वर्ष २०७२÷७३ मा ९९८, वर्ष २०७३÷७४ मा एक हजार १५४ र वर्ष २०७४÷७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकामा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको जनाएको छ ।

जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ ।

यसबाहेक गोदाबरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गत साउनदेखि एचआइभी सङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए ।

एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ रहेको छ । वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको १०९ रहेका छन् । यो रोगप्रति बढेको जनचेतनाले गर्दा सङ्क्रमितहरु खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिको कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआइभी एडस रोकथामको क्षेत्रमा कार्यरत एडस हेल्थ केयर सेन्टरका माधव पन्तले बताए ।

जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआइभी जाँच गरिएकामा ११५ जना सङ्क्रमित फेला परेका थिए । गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकामा २८ जना सङ्क्रमित फेला परेका छन् । एचआइभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले बताए ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्युदर र औषधि खान छोड्ने दर घट्दै गएको बताए।