प्रदेश 1

अल्लोको कपडालाई बजार

गाईघाट । प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले विस्तारै बजार पाउन थालेको छ ।

परम्परागत अल्लोबाट बन्ने कपडाको महत्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा निकै बजार पाउन थालेको यसमा सम्बद्ध उद्यमीले बताएका छन् ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थारूहट रङ्गशालामा गत मङ्सिर २० देखि मङ्सिर २९ गतेसम्म सञ्चालन भएको प्रदेश नं। १ स्तरीय घरेलु महोत्सवमा अल्लोको कपडाले निकै बजार पाएको खोटाङ उत्तरी पहाडी क्षेत्रका अल्लो कपडा उद्यमी नरेन्द्र थुलुङ राईले बताए ।

राईले भने, “केही वर्षअघिसम्म अल्लोको महत्व नबुझेर आधुनिक तयारी कपडाका कारण धेरै हाम्रा नेपाली दाजुभाइले अल्लो भनेको त कपडा नै होइन भन्ने सोचमा हुनुहुन्थो, तर अहिले अल्लोको महत्व निकैले बुझ्न थाल्नु भएछ, अब अल्लो कपडाको निकै राम्रो व्यापार हुन थाल्यो ।”

यस पटकको उदयपुर महोत्सवमा आफूले झण्डै रु ५० हजारभन्दा बढी मूल्यको हाराहारीमा अल्लो कपडा बिक्री गर्न सफल भएको राईले बताए । यस्तै ओखलढुङ्गा सिस्नेरीका अर्का अल्लो कपडाका उद्यमी हर्कमान रुम्दाली राईको पनि धारणा उस्तै छ ।

राईले भने, “गत वर्षको उदयपुर महोत्सवमा आफूले रु १० हजारको मात्र अल्लो कपडा बिक्री गरे पनि यस पटक रु ४० हजारभन्दा बढीको अल्लो कपडा बिक्री भयो ।” अब बल्लो कपडाको महत्व सबैले बुझ्न थालेछन्, यस्ता महोत्सवले नै हाम्रा परम्परगत संस्कृति बोकेका अल्लो कपडाको पनि महत्व र बजार बढाएको राईले बताए ।

अल्लो कपडाको कोट, जुहारीकोट, स्टकोट, टोपी, महिलाले लाउने स्कटदेखि विभिन्न प्रकारका ब्याग, झोला कपडा उत्पादनसँगै अहिले अल्लो कपडाले बजार पाउन थालेको यसमा आबद्ध उद्यमीले बताए ।

यसका उद्यमी हर्क रुम्दाली राईका अनसार अल्लो कपडाले मुटुका रोग, रक्तचाप र छालाका चर्मरोग हुनेलाई बढी फाइदा गर्ने बताए । अल्लो कपडाले यस्ता घरेलु महोत्सवबाट वर्षेनी बजार पाउँदै गएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ उदयपुरका अध्यक्ष मधुकर थापाको धारणा छ ।