सुदूरपश्चिम

व्यावसायिक मौरीपालनतर्फ आकर्षण

अमरगढी । परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।

मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थालेक छन् । उनले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताए ।

सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्ने लागेको बताए । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आउनुभएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयनपछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ ।

जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरीपालनतर्फ आकर्षण बढ्दै गएको छ ।