पु.समाचार

भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, थाल्यो नेपाली टोलीले अनुसन्धान

काठमाडौँ । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् ।

शुक्रवार भारतको कोलकातामा सुनसहित दुई नेपाली पक्राउ परेको सूचना आएपछि चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले अनुसन्धान थालेको बताइएको छ ।

भारतमा पक्राउ पर्नेहरुमा इटहरीका राकेश प्रसाद र हेमकुमकार शर्मा रहेका छन् । उनिहरुको कारबाट सुन बरामद गरिए हो । सो सूचना पाए लगतै  अनुसन्धान समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलसहितको टोलीबिच लामो समय सो घटनाका विषयमा कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको थियो ।

गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनका विषयमा अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघको पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराईरहेको छ । नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुनसक्ने भन्दै अनुसन्धान थालेका छन् ।

 सहसचिव पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए । अहिले भारतमा भेटिएको सुन चूडाणि उप्रेती उर्फ गोरेको हो या होइन भन्ने विषयमा भेरिफाइ गर्ने काम भइरहेको छ । गोरेले तस्करी गरेर ल्याएको सुन हराएको थियो । गोरे अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको सुन समितिको दाबी थियो ।

जिल्ला अदालत, मोरङमा दायर भएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको थियो । तर, हराएको भनिएको सुन बरामद नभएपछि मुद्दा कमजोर बनाइएको आरोप लाग्दै आएको थियो ।