राजनीति

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भइरहेको छ ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । आज बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।

करिव ७ महिनादेखि बस्न नसकेको स्थायी समिति बैठकमा निर्मला पन्तदेखि एकनाथ ढकालसम्मका विषय उठाउने तयारी गरिएको छ । लामो समयको दवाव र दर्जनौ पटकको गुट भेलापछि आज पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने बैठकका एजेण्डा के हुन ? के बिषयमा छलफल हुने हो ? त्यसको जानकारी सचिवालयले स्थायी कमिटी सदस्यलाई दिएको छैन । छलफलमा पार्टीको एजेण्डा के हुने थाहा नभएपनि असन्तुष्ट पक्ष स्थायी समिति बैठकमा धेरै विषय उठाउने तयारीमा छन् ।

आज वस्ने स्थायी समिति बैठकमा विशेषगरी पार्टी भित्र असन्तुष्ट रहेका नेताहरुले प्रदेश कमिटि गठन, मातहतका कमिटि एकतामा ढिलाई र सरकारको काम लगाएतका मुद्धालाई प्रमुख एजेण्डाको रुपमा प्रस्तुत गरिरहँदा प्रधानमन्त्री केपी ओली निकटका नेताले त्यसको बचाउ गर्ने रणनीति तय गरेका छन ।

एकता पछिको लामो समयको अन्तरालमा हुनलागेको नेकपा स्थायी समिति बैठकलाई राजनीतिक वृतमा महत्वका साथ हेरिए पनि आज बस्ने बैठकमा, मुख्य मुद्धा मातहतका कमिटि एकीकरण र त्यसभित्र परेको गुटीय राजनीतिक प्रभावको विषय नै चर्चाको केन्द्रविन्दुमा रहने छ ।