अन्तर्राष्ट्रिय

मध्यप्रदेश र राजस्थानमा राहुलले तय गरे मुख्यमन्त्री

भारत ।  पाँच राज्यमा भएको विधानसभा चुनावमा तीन राज्यको नतिजा आफ्नो पक्षमा पार्न सफल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले दुई प्रदेशका मुख्यमन्त्रीको नाम तय गरेका छन्।

अध्यक्ष गान्धीले केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले सम्हालिरहेका दुई राज्य राजस्थान र मध्यप्रदेशमा जित हासिल गरेपछि मुख्यमन्त्रीको नाम तय गरेका हुन्। गान्धीले दुवै प्रदेशमा अनुभववाला नेताहरूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्। मध्यप्रदेशको नेतृत्व कमलनाथलाई दिएका छन् भने राजस्थानको नेतृत्व अशोक गहलोतलाई सुम्पिएका छन्।

दुवै प्रदेशमा नयाँ मुख्यमन्त्री बनेका नेताहरूले यसअघि विभिन्न पदहरू पनि लिइसकेका छन्। उनीहरू दुवै उमेरले पनि पाका हुन्। उनीहरूका प्रतिस्पर्धी युवा थिए। राजस्थानमा युवा नेता सचिन पायलट मुख्यमन्त्रीको दौडमा थिए। पायलटलाई उपमुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यता मध्यप्रदेशमा मुख्यमन्त्रीका आकांक्षी एवं लोकसभा सदस्य ज्योतिरादित्य सिन्धियालाई राहुलले मनाएका छन्।

दुवै प्रदेशमा अनुभवी नेताहरूलाई मुख्यमन्त्री छान्नुमा राहुलले सन् २०१९ मा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गरिएको चर्चा चलेको छ। दुवै प्रदेशका मुख्यमन्त्री तय गर्न राहुल गान्धीलाई दुई दिन लागेको थियो। उनले यी दुई प्रदेशमा मुख्यमन्त्री तय गर्नका आमा सोनिया गान्धी र दिदी प्रियंका गान्धी लगायतसँग बारम्बार छलफल र परामर्श लिएका थिए।

राहुल गान्धीले अब विधानसभामा जित निकालेको तेस्रो राज्य छत्तिसगढमा मुख्यमन्त्रीको नाम तय गर्नुपर्ने भएको छ। उक्त प्रदेशमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएको छ। जहाँ पनि दुई नेता मुख्यमन्त्रीको दौडमा रहेका छन्।

राहुलले शनिबार मात्रै छत्तिसगढको मुख्यमन्त्री तय गर्ने बताइएको छ। – एजेन्सी