खेलकुद

ए डिभिजन लिग : मनाङद्वारा आर्मी १–० गोल अन्तरले पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

शुक्रवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आर्मीविरुद्ध १–० को जित निकालेसँगै मनाङ लिगमा एक खेल पनि नहार्ने एक्लो टिम बन्न सफल भएको छ ।

मनाङको जितमा विशाल राईको एकमात्र गोल निर्णायक बन्न पुग्यो । खेलको २६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औँ मिनेटमा मनाङले अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । आफ्नो उत्कृष्ट टिमलाई उतारेको आर्मीले ३९ औँ मिनेटमा अर्को मौका पाएको थियो । तर सफल भएन । त्यसको दुई मिनेटपछि आर्मीका भरत खवासको प्रहारलाई मनाङका गोलकिपर विशालले नै बचाए ।

तीन जना स्ट्राइकरलाई मैदानमा उतारहेको आर्मीविरुद्ध ७६ औँ मिनेटमा मनाङका भिक्टरको प्रहार पोलमा लागेर फर्किन पुग्यो । त्यसपछि आर्मी खेलमा फर्कन सकेन र मनाङले लगातार आठौँ जित दर्ता गर्यो ।

यो जित संगै मनाङले लगातार आठौं जित निकाल्न सफल बनेको पहिलो टिम बनेको छ ।