आर्थिक

शेयर लगानीकर्ताको माग सम्बोधन गर्ने डा. खतिवडाको बचन, मन्त्रालयमा वार्ता

काठमाडौँ । शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच आज वार्ता भएको छ ।

अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाएका थिए । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा यही मङ्सिर २० गते कार्यदल गठन गरेका थिए ।

सो कार्यदलले अर्थमन्त्री डा खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला आन्दोलनरत पक्षसँग वार्ता भएको हो । कार्यदलले शेयर लगानीकर्ता समूहका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

वार्तामा शेयर लगानीकर्ताका तर्फबाट उत्तम अर्याल, नयन्द्र बाँस्तोलालगायत सहभागी थिए । कार्यदलले लगानीकर्ताको माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने जनाएको छ ।