खेलकुद

इपिएल टि–२० क्रिकेटः पोखरा बाहिरियो

काठमाडौँ । पोखरा राइनोज यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको चौथो खेलमा काठमाडौँ किङ्ग्स–११ सँग पाँच विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडौंले चार बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौँको जितमा केभिन ओब्रिनले अविजित ५४ तथा रोहन मुस्तफाले ४० रन बनाए । सागर पुनले १८ र सुब्रमण्यम आनन्दले २७ रनको योगदान दिए ।

बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले ३८, कायल कोएट्जरले ३७, पाउल कौग्लिनले ३७ र विनोद भण्डारीले १७ रन बनाए ।

बलिङतर्फ काठमाडौँका केभिन ओब्रिन र विक्रम भुसालले दुई÷दुई विकेट लिए । पोखरा पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले, दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले र तेस्रो खेलमा विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो । पोखरा इपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।