मनोरञ्जन

झमककुमारीको ‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण

काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवर्धधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताए ।

चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन् भने गायिका जुनु गौतमले गीत गाएकी छन् ।