बाग्मती

मोवाइल पसलका संचालकसहित मोबाइल चोर गिरोह पक्राउ

भक्तपुर । चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

प्रहरीले चोरिएका मोबाइल खरीद गरी बिक्री गर्दै आएको अभियोगमा भक्तपुर नगरपालिका– ८ जगातीमा सञ्चालित मोबाइल पसलका सञ्चालक मोरङ रतमाई नपा–५ का ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले पसलमा खानतलासी गर्दा चोरीको मोबाइल १४ थान र ट्याबलेट दुई थान बरामद गरेको छ । मोबाइल चोरीमा संलग्न रहेका अभियोगमा काभ्रेपलाञ्चोक पनौती नपा– ७ का १९ वर्षीय सुवेस धुसा, मोरङ भोगटेनी गापा–८ फँडानीका १८ वर्षीय पूर्णबहादुर गदाल र भक्तपुर जिल्ला सूर्यविनायक– ७ सूर्यविनायक बस्ने २५ वर्षीय सुशन नागालाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।