बाग्मती

राष्ट्रपति कार्यालय अगाडिबाट पक्राउ परेका पत्रकार शाहको रिहा गर्न माग

काठमाडौँ । देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा प्रहरीले आज अपराह्न पक्राउ गरेको घटनाको राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) विरोध गरेको छ ।

समूहले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन भएको जनाएको छ । “पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षपको राष्ट्रिय फोटो पत्रकार समूह विरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । पेशागत कामको शिलशिलामा खटिएका फोटो पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको एनएफपीजेले जनाएको छ । पक्राउ परेकी शाहलाई तत्काल रिहा गर्न एनएफपीजेले माग गरेको छ ।