प्रदेश 1

काङ्ग्रेसको कार्यालय भवन निर्माण

दमक । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित काङ्ग्रेस नगर समितिको कार्यालयसँगै जोडिएको क्षेत्रीय समितिको कार्यालय भवन करीब रु २७ लाखको लागतमा निर्माण गरिएको पार्टी क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बताए ।

तीन वर्षअघि शुरु गरिएको पार्टी कार्यालय भवन बनाउन पार्टी कार्यकर्ता, शुभेच्छुकसहित मुगाधन कृष्णकुमारी राई स्मृति ट्रष्टको सहयोगबाट निर्माण गरिएको उनले जानकारी दिए । आगामी पुसभित्र उद्घाटन गरिने उक्त एक तले पार्टी कार्यालय भवन एक हलसहित चार कोठा रहेका छन् । पार्टी कार्यालय भवन निर्माण गरिएपछि पार्टीका बैठक, भेला बस्न सुविधा पुग्ने क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।

यसैगरी काङ्ग्रेस दमकको समेत कार्यालय भवन थप व्यवस्थित गरिने कार्य धमाधम भइरहेको काङ्ग्रेस नगर उपसभापति राजकुमार गौतमले बताए । निर्माण समितिका सहसंयोजक गौतमका अनुसार नगर पार्टी कार्यालयको स्तरोन्नति गर्न विभिन्न संरचनाका काम धमाधम भइरहेका छन् । कार्यालयको सभागृह, बैठक कक्ष, सचिवालय कक्ष, रङरोगन व्यवस्थित गरिने कार्य भइरहेको उनले जानकारी दिए । ती कार्य सम्पन्न गर्न देउसीभैलोबाट सङ्कलित रु एक लाखसहित चन्दा सहयोग गरी रु छ लाख लागत रहने जनाइएको छ ।