राजनीति

देशको राजनीतिक उपलब्धी हजारौँ हजार शहीदको बलिदानले सम्भव भएको होः अध्यक्ष दहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका आज विमोचन गरेपछि उनले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले भोग्नुपरेको स्मरण गर्दै जनयुद्धमा पनि ठूलो सहयोग गरेको स्मरण गरे।

अध्यक्ष दाहालले शहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि सबै सपना पूरा नभएको बताए । “हामी यो अवस्थामा आइपुगेका छौँ, यो सबै हजारौँ हजार शहीदको बलिदानले सम्भव भएको हो”, “उनले भने, “तर यो नै पर्याप्त होइन, शहीदले खोजे जस्तो समाज निर्माण भएको छैन ।”

उनले संविधानले सुनिश्चित गरेका उत्पीडित जाति र समुदायका अधिकार सम्बन्धित वर्गले पाउन नसकेको बताए । अध्यक्ष दाहालले भने, “अहिलेको संविधानको विशेषता भनेको यसलाई परिमार्जन गर्न सकिन्छ, त्यसैले उत्पीडित वर्गले प्राप्त गर्न नसकेका अधिकार संशोधनको बाटोबाट पूरा हुनेछन् ।”

थारु समुदायका चर्चित व्यक्तित्व स्व जोखन रत्गैया चौधरीले सम्पादन गरेको सो पत्रिकाको पुनःप्रकाशन शुरु भएपछि विमोचन गरिएको थियो । पत्रिकाको अहिले जोखनकी छोरी इन्दु चौधरीले सम्पादन गरिरहेका छन् ।