पर्यटन/संस्कृति

सिधा हवाई सम्पर्क विस्तार गरी पर्यटन प्रवर्धनलाई साझा अवधारणा बनाउन विज्ञहरुको जोड

काठमाडौँ । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवर्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवर्धनबारे आज आयोजना गरेको अन्तक्रियामा उनले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताए । राजदूत परेराले पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवर्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याए । सांस्कृतिक र धार्मिक रुपमा दुई देशबीच नजिकको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पारस्परिक हित र लाभका विषयमा भावनात्मक सहकार्य अभिवृद्धिमा सक्रिय हुनुपर्ने राजदूत परेराको भनाइ थियो ।

पर्यटन प्रवद्र्धन गर्न एकअर्का देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने उनको विश्वास छ । नेपाल र श्रीलङ्काबीच सन् १९२० देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउँछन् ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।

टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलङ्काबीचको लामो कूटनीतिक सम्बन्धलाई पर्यटनको माध्यमबाट आपसी लाभ लिन सकिने उल्लेख गरे । उनले दुई देशबीचको पर्यटकीय सम्भावनालाई उजागर गर्दै प्रवर्धनका कार्यक्रमलाई हातेमालोसाथ अघि बढ्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

छलफलमा सहभागी पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साललगायतले दुवै मुलुकबीच पर्यटन प्रवर्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने सुझाएका थिए । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।