लुम्बिनी

वडाको सेवा घरघरमै

रुकुम । जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ ।

एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पु¥याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् । नागरिकलाई गाउँगाउँमा सिंहदरबार आएको महशुस गराउनका लागि गाउँगाउँमा पुगेर सेवा दिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिए। वडाले कामी गाउँ हिल, लिउडाँडा चौखावाङ, कुन्सिम्ला र वडा कार्यालय होल्तारामा एकीकृत घुम्ती शिविर आयोजना गरी सेवा दिएको उनको भनाइ छ ।

वडाले सञ्चालन गरेको एकीकृत शिविरबाट १० जनालाई विभिन्न खाले व्यक्तिगत सिफारिश, पाँच जनालाई नागरिकता र तीन जनालाई नागरिकताको प्रतिलिपिको सिफारिश गरिएको छ भने २५ जनाको जन्मदर्ता, दुई जनाको विवाह दर्ता, दुई जनाको मृत्यु दर्ता र नौ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने फारम भरिएको छ ।

यसैगरी २३५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ । त्यस्तै २४५ घरपरिवारलाई विभिन्न खाले पशु चौपायका लागि निःशुल्क औषधि पनि वितरण गरिएको छ । जसबाट एक लाख २५ हजार ३०९ रुपैयाँ राजश्व सङ्कलन भएको वडाले जानकारी दिएको छ ।