स्वास्थ्य

दुर्गममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

बैतडी । नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर गिरीले जानकारी दिए ।

तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । दुर्गमका नागरिक गाउँघरमै निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशीसमेत भएका छन् । नेपाली सेनाले दुर्गममा आएर सर्वसाधारणलाई सेवा दिँदा निकै खुशी भएको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए । उपचार नपाएर रोग पाल्दै आएका नागरिकले गाउँघरमै निःशुल्करूपमा स्वास्थ्य सेवा लिन पाउँदा हर्षित भएका हुन् ।

गुल्मले शिविरमा हाडजोर्नी, स्त्रीरोग, आँखा, पेट, ग्यास्ट्रिक, दमलगायत सेवा निःशुल्क प्रदान गरेको थियो । साथै गुल्मले महिनावारी, रुघाखोकी, डे«सिङलगायत सेवा दिनुका साथै निःशुल्क औषधि वितरणसमेत गरेको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा मङ्सिर २२ गतेदेखि शुरु भएको घुम्ती शिविरमा हालसम्म एक हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । शिविरमा फोटोसहितको मतदाता नामावली सङ्कलन, सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुहरूका लागि औषधि वितरण, घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयहरूले पनि सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् ।