साहित्य

पुस्तक समीक्षाः ‘ह्युमन राइट्स ह्युमन रङ्स’

काठमाडौँ । कूटनीतिज्ञ शम्भूराम सिंखडाले मानवअधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेका कार्यभार र सँगालेका अनुभवबारे एक महत्वपूर्ण पुस्तक बजारमा ल्याएका छन् । ‘ह्युमन राइट्सः ह्युमन रङ्स’ (मानवअधिकार, मानवीय दोष, मानव चेतनाको कसीमा) नाम दिइएको अङ्ग्रेजी भाषामा लेखिएको सो पुस्तक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विमोचन गरेका हुन् ।

संयुक्त राष्ट्र सङ्घ र अन्य निकायहरूका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत रहिसक्नुभएका तथा १५ वर्षको कूटनीतिक जीवनको अनुभव सँगालेका सिंखडाले सन् २०००–२००१ मा संयुक्त राष्ट्र सङ्घको मानवअधिकार आयोगको ५६औँ सत्रको अध्यक्षता गरेका थिए । उनी एशियाली राष्ट्रको समूहले अध्यक्षमा प्रस्ताव गरी सर्वसम्मत भएका थिए । सो बखत संसारभरिकै मानवअधिकार आयोगहरूले उनीसमक्ष नै मानवअधिकार प्रतिवेदन पेश गर्ने गरेको उनले बताए ।

उनले अध्यक्षता गरेको मानवअधिकार आयोगको प्रथम अध्यक्ष सन् १९४६ मा अमेरिकाकी श्रीमती इलिनोर रुजवेल्ट थिए । उनी प्रथमदेखि छैटौँ सत्रसम्म लगातार अध्यक्ष बनेका थिए ।

सिंखडाले भने सो जिम्मेवारी सन् २००० मा आयरल्याण्डकी एन्नी एण्डरसनबाट प्राप्त गरी सन् २००१ मा अर्जेन्टिनाका लिएन्डो डिस्पोइलाई हस्तान्तरण गरेका थिए । नेपालजस्तो सानो मुलुकले संयुक्त राष्ट्रसङ्घको त्यति ठूलो आयोगको अध्यक्षता गर्न पाउनु ठूलो सौभाग्यको कुरा भएको उनी बताउछन् । उनले सो बखत अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा मानवअधिकारको अवस्थाबारे विशेष छलफलको अध्यक्षता पनि गरेका थिए ।

मानवअधिकार आयोगको सत्रको अध्यक्षता निकै चुनौतीपूर्ण भएको र यसमा निष्पक्षता चाहिने उहाँ बताउनुहुन्छ । कसैको पक्ष नलिँदा सो अध्यक्षतापछि धेरै कम मात्र साथी बाँकी रहने उनका पूर्ववर्तीहरूले बताएको उनी स्मरण गर्छन् ।

सो बखत आफूले गरेका काम र पूरा गरेका जिम्मेवारीबाट द्वन्द्वमा परेका बालबालिकाको अधिकार, महिला अधिकार तथा गरीबी र मानवअधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा भएका काममा उनी गौरव गर्छन् । सो बखत आफूले निर्वाह गरेको कुशल भूमिकाबाट पछि संयुक्त राष्ट्रसङ्घको सहायक महासचिवजस्तो उच्च पदमा पुग्न सफल कुलचन्द्र गौतमले उहाँलाई भेट नभए पनि इमेल पठाउनु भई ‘म तपाईंले गरेका काम टाढैबाट नियालिरहेको छु र तपार्इंले हामी नेपालीलाई गौरव गर्ने अवसर दिनुभएको छ,’ भनेकोबाट आफ्नो भूमिकाको कसै न कसैले मूल्याङ्कन गरिरहेको र नेपालीलाई गौरव गर्न लायक काम भएकामा सन्तोष व्यक्त गर्छन् ।

उनले पुस्तकमा मानवअधिकारको ऐतिहासिक परिप्रेक्ष्य र वर्तमान विकासक्रम, संरासं मानवअधिकार आयोगको ५६औँ सत्र, आयोगको पाँचौँ विशेष सत्र, विश्वव्यापी मानवअधिकार एजेण्डामा उठिरहेको मुद्दा आदिबारे सविस्तार व्याख्या गरेका छन् ।

पुस्तकमा मानवअधिकारको विश्वव्यापी घोषणा पनि समावेश गरिएको छ भने संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव कोफी अन्नानले आयोगको ५५औँ सत्रमा दिनुभएको वक्तव्य पनि समावेश छ । पुस्तकमा मानवअधिकार आयोगको व्यक्तिहरूको नामसमेत उल्लेख छ ।

पुस्तकमा उनले जेनेभामा कार्यभार सम्हालेका बखतका राष्ट्रसङ्घका महासचिव कोफी अन्नानसँगै बैठकको अध्यक्षता गरिरहँदाका ऐतिहासिक तस्बीरहरूसमेत समाविष्ट गरेका छन् ।

प्राचीन हिन्दू ग्रन्थहरूमा ‘वसुधैव कुटुम्बकम्’ उल्लेख हुनुको अर्थ सो बखत सबैलाई समान आदर गरिनुपर्ने दर्शन रहेको र हिन्दू र बौद्व धर्ममा धर्मको अर्थ सेवा र अरूलाई हानि नगर्ने हुनु पनि मानवअधिकारकै शुरुआतको अर्थमा लिएका छन् ।

यसैगरी सर्वप्राचीन इपू १७८० को हम्मुरावी कोडले पनि मानवअधिकारको अर्थमा बलियाले निर्धालाई हानि–नोक्सानी गर्न नहुने विचार निहित रहेको पुस्तकमा उनी उल्लेख गर्छन् ।

आधुनिक युगमा सन् १२१५ को म्याग्नाकार्टा, सन् १६८९ को इङ्लिस विल अफ राइट्स, सन् १७७६ को भर्जिनिया घोषणा, सन् १७८९ को फ्रेन्च घोषणा र सोही वर्ष भएको अमेरिकी विल अफ राइट्स मानवअधिकारकै विकासक्रम रहेको पुस्तकमा उल्लेख छ ।

पछि संयुक्त राष्ट्रसङ्घले आफ्नो बडापत्रको धारा १ र ५५ मा मानवअधिकारलाई उल्लेख गरेपछि सन् १९४६ मा मानवअधिकार आयोग स्थापित भयो भने सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणा आएको इतिहास पुस्तकमा उल्लेख छ । सोही आयोग सन् २००६ मा मानवअधिकार परिषद्मा परिणत भएको थियो ।

मानवअधिकारको अभावमा २०औँँ शताब्दीमा विभिन्न युद्व, आमहत्या, जातिहत्या र युद्घ अपराधका कारण धेरैले ज्यान गुमाउनु परेको र अझै पनि धेरैले रोग, अन्याय र अज्ञानतामा जीवन बिताइरहनु परेको पुस्तकमा उनी उल्लेख गर्छन् । उनी शीतयुद्ध समाप्त भएर बर्लिन पर्खाल ढले पनि अन्य कैयौँ युद्ध शुरु भएका र अन्य पर्खालहरू बन्न थालेका पनि पुस्तकमा उल्लेख गर्छन् । जे भए पनि मानवअधिकार घोषणा भने संयुक्त राष्ट्रसङ्घको मानवअधिकार आयोगले हामी मानव जातिलाई दिएको सर्वोत्तम उपहार भएको उनको भनाइ छ ।

समग्रमा पुस्तक मानवअधिकारको क्षेत्रमा संरासंले गरेका कामकारवाही, मानवअधिकार आयोगदेखि हाल मानवअधिकार परिषद्सम्म बन्दाका विकास तथा विश्वभर मानवअधिकार उल्लङ्घनका घटनामा कसरी त्रुटिहरू भए भन्ने बारे व्याख्या गरिएको छ । पुस्तक मानवअधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, अन्तर्राष्ट्रिय कूटनीति तथा सम्बन्धमा जानकारी राख्न चाहने जिज्ञासुलगायत मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीलाई उपयोगी हुने देखिन्छ ।

पुस्तक केडब्ल्यु पब्लिसर्स, नयाँ दिल्लीले प्रकाशन गरेको हो भने २०३ पृष्ठको सो पुस्तकको मूल्य भा रु ६८० रहेको छ ।