गण्डकी प्रदेश

खोप केन्द्र भवन निर्माण

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरमा खोप केन्द्रको भवन निर्माण भएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बगरका बालबालिकालाई सहज रुपमा गाउँमै खोप सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बगरका बासिन्दावासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् ।

कदम म्याग्दीमार्फत प्राप्त रु नौ लाख २९ हजार, धौलागिरि गाउँपालिकाको रु एक लाख र स्थानीयवासीको रु चार लाख ७४ हजार १५० बराबरको श्रमदानमा एककोठे पक्की भवन निर्माण गरिएको स्थानीयवासी नरप्रसाद पुनले बताए ।

भवन तयार भएपछि खोपकेन्द्रसँगै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गरिएको उहाँले बताउनुभयो । एकाइ सञ्चालन भएमा बगर र सिम्कोस गाउँका करीब ५० घरधुरी लाभान्वित हुने जनाइएको छ ।

बगर र सिम्कोसका बासिन्दा सामान्य बिरामी पर्दासमेत पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गभर्वती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको छ । सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले बताए ।