गण्डकी प्रदेश

वृद्धवृद्धालाई न्यानो कपडा वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले वडाभित्रका सबै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई कम्मल(ब्ल्याङ्केट)वितरण गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। उक्त वडाभित्र रहेका २१७ वृद्धवृद्धा र २३ अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको उनले बताए ।

मङ्सिर महीना सकिनै लाग्दा अत्याधिक चिसो बढ्न थालेपछि वृद्धवृद्धामा बढी समस्या हुने भएकाले उनहरुलाई चिसोबाट जोगिन सजिलो होस् भनेर ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसममा न्यानो कपडा नहुँदा अस्थायी टहरामा बस्दै आएको वृद्धवृद्धा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको छ, वडाध्यक्ष श्रेष्ठले भने, भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेकालाई असाध्यै समस्या भएको देखेपछि न्यानो कपडा खरीद गरेर वितरण गरेका हौँ ।’

भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि अझै अस्थायी टहरामा रहेका भूकम्पपीडितहरु बिहान बेलुकी जस्ताले बेरेर बनाएकोे टहरामा बस्दा शीत चुहिने र बढी चिसो हुने हुदा कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

वडा नं ७ चाहापनी घर भएका ७५ वर्षीय सन्ते सार्कीले भने, “हामीले जिताएर पठाएका मान्छेले हाम्रो मर्का बुझ्ने रहेछन् ।”