कर्णाली प्रदेश

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सोलुखुम्बु । जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिए।

सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका अनुसार हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेको विभिन्न तथ्यहरूमा उल्लेख छ । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ ।

सन् १९८० को शुरुबाट हेपाटाइटिस ‘बी’ विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको बताइन्छ । यो रोग संसारभर फैलिएको चिकित्सकको भनाइ छ । प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । यो रोग यौन सम्पर्क तथा रगतको माध्यमबाट सर्ने डा बस्नेतको भनाइ छ ।