गण्डकी प्रदेश

मुस्ताङमा पक्राउ परे पासोसहित एकजना शिकारी

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको छोङगुमा जंगली जनावरको मासु र जनावर मार्नको लागि प्रयोग गरिने पासोसहित एकजना शिकारी पक्राउ परेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमकी रेञ्जर धनु गुरुङको नेतृत्वमा कोवाङबाट गएको प्रहरी सहितको टोलीले रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई पक्राउ गरेको हो। मगरको साथबाट  पकाएको मासु एक केजी, जनावरको सुकुटी, खानको लागि तयारी रोटी, जनावर पार्नको लागि प्रयोग गरिने ७० थान पासो, डाँफे पार्नको लागि बिछ्याइएका ४ थान पासो र एउटा खुकुरी बरामद भएको छ।

 रेञ्जर गुरुङले दिएको जानकारीअनुसार उनलाई पासो थाप्न लागेकै अवस्थामा रंगेहात पक्राउ गरिएको हो। ‘हाम्रो टोलीले पासो थाप्दै गरेको अवस्थामा देखेपछि उ झोला छोडेर भाग्यो। झोला हेर्दा बिभिन्न सामग्री बरामद भए’ उनले भनिन्,‘पछि प्रहरीले उसलाई भाग्दै गरेकै अवस्थामा पक्राउ गर्‍यो।’ पक्राउ परेका मगरले प्रहरीसँग पकएको मासु घोरलको भएको र आफूले १० दिन अगाडि उक्त घोरलको शिकार गरेको बताएका छन्। तर त्यो मासु कस्तुरीको हुन सक्ने शंका गरिएको छ। यसको पुष्टिको लागि बरामद भएको पकाएको मासु र सुकुटीलाई परीक्षणको लागि पोखरा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार पक्राउ परेका मगरलाई थप अनुसन्धानको लागि बिहीबार एक्यापको सम्पर्क कार्यालय पोखरामार्फत कास्की प्रहरीलाई जिम्मा लगाईँदै छ।   गस्तीमा रहेको टोलीले समुन्द्री सतहबाट ३५०० मिटरको उचाइमा रहेको स्थानमा शिकारीलाई पक्राउ गरेको यो पहिलो पटक हो।

कोवाङको जंगलमा पछिल्लो समय जंगली जनावर र पंक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा रहेको पनि रेञ्जर गुरुङले बताइन। यो गस्ती टोली अझै केही दिनसम्म मुस्ताङका उच्च स्थान र जंगलहरूमा यसरी नै गस्ती गर्ने छ।