लुम्बिनी

जन्ती बाेकेकाे जिप दुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक रात्री बस र जन्ति बोकेको जिप आपसमा ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

बेहुली लिएर चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियोलाई महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा/बुवा हुन् । शवलाई लमही अस्पतालमा राखिएको छ ।

बुवा/आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सबै सकुशल रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षकी गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको कोहलपुर उपचार भैरहेको छ । दुलहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ ।