खेलकुद

ए’ डिभिजन लिग : आठौँ चरणका खेलहरू आजदेखि

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू आजदेखि हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । आज दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

आज हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेलमा सङ्कटाले हिमालयन शेर्पाको सामना गर्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच एन्फा मैदानमा हुनेछ । सोही मैदानमा हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । त्यसैगरी हल्चोकमा सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

शनिबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिग्रेड ब्वाइजको सामना गर्नेछ भने दोस्रो खेलमा थ्रीस्टारले मछिन्द्र क्लबको सामना गर्नेछ । दुवै खेल हल्चोकमा हुनेछ । साताँै चरणका खेल सकिँदासम्म सात पटकको लिग विजेता मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदा थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २१ अङ्क छ । थ्रीस्टार र सङ्कटाको समान १८ अङ्क रहेको छ । उनीहरू क्रमश दोस्रो र तेस्रो थानमा छन् ।

त्यसैगरी लिगमा अपराजित टोली त्रिभुवन आर्मीको १७ अङ्क बनाउँदै चौथो स्थानमा छ । नेपाल पुलिस र हिमालन शेर्पाले समान ११ अङ्क जोड्दै क्रमशः पाँचौ र छैठौ स्थानमा रहेका छन् । यस्तै च्यासल १० अङ्क जोड्दै सातौँ स्थानमा रहँदा समान अङ्कसहित एपिएफ आठौँ स्थानमा रहेका छन् । छ अङ्क जोडेको सरस्वती नवौँ र पाँच अङ्क जोडेको फ्रेन्ड्स दशौँ स्थानमा छन् ।

चार अङ्क जोडेर जावलाखेल र ब्रिगेड ११ र १२ औँ स्थानमा रहँदा ३ अङ्क जोडेको मछिन्द्र १३ औँ र एक अङ्क जोडेको एनआरटी अन्तिम स्थानमा रहेका छन् ।