पर्यटन/संस्कृति

वाईडबडी बिमान खरीद थप रहस्यमयः जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए ।

उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं छन् । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ ।

समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज खरीदका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत मन्त्रालय र निगमका उच्च पदस्थ अधिकारीसँग छलफल गरिसकेको छ ।

समितिको निर्देशनअनुसार, सार्वजनिक खरीद अनुगमन कार्यालयले समेत विमान खरीदका सम्बन्धमा आफनो प्रतिवेदन समिति समक्ष बुझाइसकेको छ । उपसमितिको प्रतिवेदन प्राप्त भएपछि समितिले जहाज खरीद सम्बन्धमा के–कस्तो ढङ्गबाट अघि बढ्ने सन्दर्भमा निष्कर्षमा पुग्ने सभापति शाहले जानकारी दिए ।

समितिको आजको बैठकमा सदस्यले राष्ट्रपति कार्यालयका लागि आवश्यक भनिएको गाडी खरीद, बूढीगण्डकी जलविद्युत् आयोजना, तारा गाउँ विकास समितिको जग्गाको भोगचलन, समितिको वार्षिक कार्यसूचीलगायतको विषयमा आ–आप्mना धारणा व्यक्त गरेका थिए ।