आर्थिक

सिमेन्ट उद्योगलाई देशको अवश्यक्ता अनुसार अझै सुधार गर्ने मन्त्रालयको लक्षः मन्त्री यादव

हेटौँडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी उद्योगसँग प्रतिस्पर्धामा लैजाने बताएका छन् ।

उद्योगको आज ३३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सो उद्योगलाई कस्तो बनाउने भन्ने यहाँका नेता तथा सरोकारवालाको हातमा रहेको उल्लेख गरेका छन् । उनले कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे पक्कै पनि उद्योगको आन्तरिक व्यवस्थापनमा सुधार गर्न सकिने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका कुनै पनि उद्योग कुनै पनि बहानामा बन्द गर्ने र त्यस्ता प्रयास गर्नेलाई छुट नदिइने बताए । राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, इन्द्रबहादुर बानियाँ, उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहलगायतका वक्ताले उद्योगको अवस्थाबारेमा बोलेका थिए ।

लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग विगत चार वर्षदेखि मुनाफा गर्न सफल भएको छ । उद्योगले आव ०७४÷७५ मा रु २३ करोड ५० लाख ५६ हजार मुनाफा गरेको छ । त्यसअघिको वर्ष करीब रु २२ करोड उद्योगले नाफा गरेको थियो ।

“चालू आवमा रु ३५ करोडभन्दा बढी नाफा गर्ने लक्ष्य लिएका थियौँ”, उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले भने, “गत आवमा नै ३० करोडभन्दा बढी नाफा हुने थियो ।” उनले उद्योगमा मेसिन पुराना भएका र खानीमा स्थानीय विवादले गर्दा जति काम गर्नुपर्ने हो त्यति काम गर्न नसकिएको जानकारी गराए ।