समाचार

‘सेयर बजार लगातार घट्नु नकारात्मक’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले अर्थतन्त्रको प्रमुख सूचक मध्येको एक रहेको सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक रहेको बताएका छन् ।

मिडिया इन्टरनेशनलद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सेयर बजार पछिल्ला नौ महीनासम्म निरन्तर ३०० अङ्कले घट्नु राम्रो सङ्केत नभएको बताए ।

उहाँले जनशक्ति अभाव, सुशासन अभाव, फजुल खर्च प्रवृत्ति, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, धेरै राजनीतिक पदलगायतका कारण मुलुकमा आशाभन्दा पनि निरासा बढी देखिएको उल्लेख गरे ।

अर्थविद् डा चन्द्रमणी अधिकारीले राजनीतिक रुपमा एकले अर्कालाई आरोप–प्रत्यारोप लागाउनुको सट्टा उपभोगसँगै उत्पादनको पनि अन्तर्राष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ९० प्रतिशत नपु¥याएसम्म निजीकरण नहुने उनको भनाइ छ ।

सेयर बजार विज्ञ डा गोपाल भट्टले बैंकिङ क्षेत्र एवं पूँजी बजारमा देखिएको समस्या समाधानका लागि नितीगत रुपमै सुधार गर्नुपर्ने बताए । उनले भने, “बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्छ ।” चेम्बर अफ कमर्श, प्रदेश नं ५ का अध्यक्ष भीमलाल पौडेलले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण दिनुपर्ने माग गरे ।