पत्रपत्रिका

१ लाख ६ हजार कर्मचारीकाे समायोजन गरिँदै

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ लागू भएसँगै निजामती कर्मचारीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका दुई हजार गरी करिब एक लाख छ हजार कर्मचारीलाई समायोजन प्रक्रियामा सामेल गराउने गरी कार्य प्रारम्भ गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने, ‘अब कर्मचारी समायोजन प्रक्रिया सुरु भयो, सबै कर्मचारी समायोजनका लागि तयारी अवस्थामा बस्नुपर्नेछ।’ समायोजक प्रक्रियामा राष्ट्रसेवकका रुपमा रहेका सबै कर्मचारीलाई संलग्न गराइने समाचार राजधानीदैनिकमा छ।

सचिव थपलियाका अनुसार अब देशभरका तीनवटै तहको संगठन संरचना र दरबन्दीको अन्तिम टुंगो लगाइनेछ। त्यसपछि सफ्टवेयरमार्फत सबै कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरी समायोजन प्रक्रिया सामेल हुन आह्वान गरिने जनाइएको छ।

यसअघि सरकारले संघमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारी रहने गरी संगठन र दरबन्दी स्वीकृत गरेको थियो।