पत्रपत्रिका

लोकसेवाले गर्न सकेन १७ सय पदमा विज्ञापन

काठमाडौं। लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य गरी नौवटा सेवासमूहका झण्डै १७ सय पदमा विज्ञापन गर्न नसक्ने भएको छ। तर बुधबार आंशिक रूपमा केही सेवा समूहको विज्ञापन निकालिएको आयोगले जनाएको छ।

राजधानी दैनिकमा समाचार छ, सरकारले ती सेवा समूहका पदमा माग संख्या नै नपठाएकाले आयोगले बुधबार गर्ने विज्ञापनमा ती कुनै पनि सेवा समूहको विज्ञापन समावेश नहुने भएको हो।

लोकसेवाको नियमित कार्यतालिकाअनुसार गत असोजको अन्तिम बुधबार नै ती सबै सेवा समूहका शाखा अधिकृत, उपसचिव र सहसचिवको विज्ञापन गर्नुपर्थ्यो तर सरकारले दुई महिनासम्म विज्ञापन रोक्न आयोगलाई लिखित अनुरोध गरेपछि आयोगले त्यतिखेर सबै विज्ञापन रोकेको थियो।

आयोगले मंसिरको अन्तिम बुधबार हाल सरकारी सेवामा रहेका १२ सेवा समूहका गरी दुई हजार पदमा विज्ञापन हुने अनुमान गरेको थियो।