आर्थिक

लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरे । उनले भने, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, स्वस्थ्य र चिर स्थायी बनाउनका लागि सरकारले कदम चालेको छ, हतारमा शेयर किनबेचभन्दा धैर्य गर्न लगानीकर्तालाई सुसूचित गर्नुपर्ने अवस्था छ ।”

देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख हुने क्रममा बच्चाको दाँत निस्कने क्रममा ज्वरो आएको जस्तो अवस्था रहेको मन्त्री खतिवडाको भनाइ थियो । उत्पादन क्षेत्रमा लगानी बढाएर राष्ट्रिय पूँजी निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको पनि उनले बताए ।

कृषि, ऊर्जालगायत उत्पादन क्षेत्रमा अहिले कर्जाको माग बढिरहेको बैंकले शेयर बजारमा चाहे जति लगानी गर्न सक्ने अवस्था कमजोर रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले तरलताको अभावले पनि शेयर बजारलाई केही हदसम्म तलमाथि पारेको हुन सक्ने बताए ।