उर्जा

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

बेनी । म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोरअन्र्तगत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सब–स्टेशन निर्माण भैरहेका छन् ।

जलविद्युत् विकासमा यस क्षेत्रको भाग्यरेखा मानिएको यस आयोजनाको निर्माण कार्य अघि बढेसँगै यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरुले समेत आफ्नो निर्माण कार्यलाई तीब्रता दिन थालेका छन् । दानामा ७० र खुर्कोटमा ६० प्रतिशत सब–स्टेशन निर्माण कार्य सकिएको यस आयोजनाको टावर निर्माणसँगै तार तान्ने कामसमेत अघि बढाइएको आयोजनाका सहायक निर्देशक रमेश खड्काले जानकारी दिए । “दाना–खुर्कोटसम्म ११४ वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६५ वटा टावर निर्माण सम्पन्न भएको छ, २० भन्दा बढी ठाउँमा फाउण्डेशन तयार भएको छ, तिप्ल्याङ, महभिर र धाईरिङबाट तार तान्ने काम पनि सँगसँगै अघि बढेको छ” – सहायक निर्देशक खड्काले भने ।

एशियाली विकास बैङ्कको ऋण सहयोगमा करीब २ अर्ब ७५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले सन २०१६ को सेप्सेम्बरदेखि निर्माण कार्य शुरु गरेको थियो । विसं २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएपनि सरकारी प्रकृया, मुआब्जालगायतका विविध कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकेपछि ६ महिना समय थप भएको छ । “अहिलेसम्म करीब ७५ प्रतिशत काम सम्पन्न भएको छ, केही ठाउँमा स्थानीयवासीसँगको विवादका कारण काम हुन नसके पनि आयोजनाको कामले गति लिएको छ, थप भएको समयभित्रै सम्पन्न गर्नेतर्फ हाम्रो जोड छ” – आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।

कालीगण्डकी कोरिडोर राष्ट्रिय प्रशारण लाइनमार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिनेछ । यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्य शुरु गरेको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन निर्माणले गति लिएसँगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।

यस आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे सात करोड रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जा मूल्याङ्कन समितिको निर्णयअुनसार म्याग्दीमा ९० जनालाई ४ करोड २० लाख र पर्वतमा ८८ जनालाई ३ करोड ७० लाख मुआब्जा दिनुपर्छ । तर, अहिलेसम्म म्याग्दीका ७० जनाले कुल साढे ३ करोड र पर्वतका ७५ जनाले ३ करोड रुपैयाँ मुआब्जा बुझेको आयोजनाका लेखापाल गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

प्रकृया पूरा गरी आएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भैरहेको र केही ठाउँमा एउटै जग्गामा हकदावी धेरै भएको कारण जग्गा पहिचान गरेर मुआब्जा दिने तयारी गरिएको आयोजनाले जनाएको छ ।