उर्जा

विद्युत् खरीद सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ ।

प्राधिकरणले ३५ मेगावाट क्षमताको ब्रह्मायणी र १५ मेगावाट क्षमताको माथिल्लो ब्रह्मायणी आयोजनाबाट उत्पादन हुने विद्युत् खरीद गर्ने सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ती आयोजनाका प्रवद्र्धक एकीकृत व्यापार कम्पनीका अध्यक्ष भरत पराजुलीले हस्ताक्षर गर्नुभएको प्राधिकरणले जनाएको छ । ती दुई आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको कम्पनीले आज जानकारी दिएको छ ।

दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षामा चार रुपैयाँ ८० पैसामा खरीद गर्ने छ । आगामी चार वर्षमा दुवै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती आयोजनाको कूल लागत रु १० अर्ब रहेको छ । त्यसमा रु सात अर्ब ब्रह्मायणी र रु तीन अर्ब माथिल्लो ब्रह्मायणीका लागि खर्च हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणले निर्माण गर्ने स्थानीय पाङताङ सवस्टेशनमा जोडिनेछ ।