प्रदेश 1

आपराधिक घटनामा बालक नै बढी संलग्न

गाईघाट । उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेको दखिएको छ ।

जिल्लामा भएका चार महीनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा यौन दुव्र्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए। यता इन्सेक उदयपुरका अनुसार चार महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र यसमा १५ वर्षसम्म बालकको संलग्नता धेरै रहेको छ ।

इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ । यस अघिका वर्षमा जिल्ला लागुऔषध दुव्र्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको तर अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्न हुने र दुव्र्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिए।

बालबालिका अपराध तथा लागुऔषध दुव्र्यसनमा फस्दै जानु भनेको अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाह नगरी लापवाही गर्नाले नै अहिले उदयपुरमा बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई सङ्कटमा पारिरहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनु, गलत सङ्गतमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ ।

समयमा नै अभिभावक सचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य अन्धकार हुने र झनै आपराधिक क्रियाकलाप बढ्दै जाने सरोकारवाला निकाय बताएका छन् ।