समाचार

पन्ध्र वृद्धवृद्धाले दृष्टि पाए

मङ्गलबारे । “कान्छा तिमी पनि आँखा देख्दैनौँ र यहाँ आएका रु” फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्बूको भनाइमा पछिल्तिर बसेका सोही ठाउँका सोही उमेर हाराहारीका जसबहादुर राईले उत्तर दिनुभयो “हो, म पनि आएको हुँ ।”

चार वर्षअघि दाहिने आँखा एक्कासि बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि आफ्नै घर पनि बिरानो लाग्ने राममति अहिले आफूले संसार देख्न पाएकोमा खुशी छन् । “दाहिने आँखा त बन्द भयो भयो, अर्को आँखाले पनि त्यति काम गरेको नगरेकाले यतिकै बितिन्छ की भन्ने पीर थियो तर दैवले गाउँघरमै आँखा लगाइदिए, अहिले संसार देख्न पाए, आफैँ घरसम्म पुग्न सक्छु”, उनले हर्षका आँशु झार्दै चिकित्सकतर्फ फर्केर भने “हाम्रा लागि भगवान् यही आउनुभएछ ।”

आमचोककै जसबहादुर पनि आफू आँखा देख्ने भएपछि निक्कै हर्षित हुनुभयो । छ वर्षअघिदेखि बन्द रहेको आफ्नो देब्रे आँखा आज खुल्दा धेरै खुशी छु, उनले भने, “उपचारका लागि कहीँ जानुपरेन घरआँगनमै संसार देख्न पाइयो ।” मोतियाबिन्दुको सफल शल्यक्रियापछि ठमठम हिँडेरै घर जाए ।

दुवै आँखा बन्द भएर घरको एउटा कुनामा बाँकी जीवन बिताइरहनुभएका फाकफोकथुम–४ फूएतप्पाका ७५ वर्षीय यामबहादुर लुङ्गेलीले पनि संसार देख्न पाउँदा गौरव लागेको महसुस गरे । छ÷सात महीनादेखि दुवै आँखा बन्द भएर हिँड्डुलमा समेत समस्या भोग्दै आएका लुङ्गेलीले आँखाको सफल शल्यक्रियापछि आफैँ घर जान सक्ने भएको छु भने ।

नेपाल नेत्रज्योति सङ्घ र उक्त गाउँपालिकाको संयुक्त आयोजनामा आमचोकमा शल्यक्रियासहितको शिविर आयोजना गरिएको हो । उक्त गाउँपालिकाको फूएतप्पा, लुम्दे, एकतप्पा, फाकफोकमा सञ्चालित शिविरमा ५६ मोतियाबिन्दुका बिरामी भेटिएका थिए तर शिविरमा लक्ष्यअनुसार बिरामी नआएको उपचारमा संलग्न अप्टामरलोजी रुकेससिंहले बताए । सङ्घले मङ्सिर १५ गतेदेखि शुरु गरेको शिविरमा १५ जनाको आँखाको सफल शल्यक्रिया गरिएको थियो । मोतियाबिन्दु लागेर आँखा नदेख्ने १५ जनाको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उनीहरूले आँखा देख्न सक्नुभएको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा हनी केसीले बताए ।

बिरामीलाई खाना र बस्नको प्रबन्ध गर्न सकेको भए लक्ष्यअनुसार प्रगति हुने थियो । शिविरमा आएका सामान्य बिरामीलाई निःशुल्क औषधि, चश्मा वितरण गरिएको थियो । शिविरका लागि रु चार लाख सहयोग उपलब्ध गराइएको उक्त गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा सङ्घले एक हजारको मोतियाबिन्दुको शल्यक्रिया गरेकोे बताए । सन् २०२० सम्ममा मोतियाबिन्दु र रतन्धो भएका मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको उनले जानकारी दिए ।