समाचार

मुआब्जा माग

विदुर । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडकमार्गअन्तर्गत पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीले सोमबार विरोध ¥याली निकालेका छन् ।

आयोजनाले सडकमा पर्ने सबै भूभागको मुआब्जा नदिने जनाएपछि प्रभावित नागरिक आन्दोलित भएका हुन् । पिपलटारदेखि ढुङ्गेसम्म सडकमा परेका जग्गाको मुआब्जा निर्धारण हुनसकेको छैन । गत कात्तिक १३ गते पिपलटारवासीले योजनाको निर्माण व्यवसायीले सो क्षेत्रमा गरेको कालोपत्रेको काममा अवरोध गरेर पीडितलाई मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेका थिए । सो अवरोधपछि प्रशासनले प्रहरी परिचालन गरी कालोपत्रे गरायो भने पिपलटारदेखि बट्टार, विदुर र ढुङ्गेसम्मका प्रभावितले भेला गरी सङ्घर्ष समिति गठन गरेको संयोजक लीलानाथ न्यौपानेले बताए।

देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको स्थानीयवासीको बुझाइ छ । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेर अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने कोही नदिने ”, समितिका संयोजक न्यौपानेले भने ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे मुआब्जा दिने÷नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।

¥यालीपछिको कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले राष्ट्रिय गौरवको आयोजना भन्दैमा मनोमानी हुन नहुने बताए। सर्वोच्च अदालतले फैसला गरी आयोजना निर्माण हुने क्षेत्रका प्रभावित नागरिकलाई मुआब्जा दिन गरेको निर्देशन राज्यले पालना नगरेको बताए । विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएको कारण मुआब्जा दिनेबारे योजनाले स्पष्ट जानकारी दिन नसकेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आएका छन् ।

“गङ्गटेदेखि ढुङ्गेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठीबाससमेत लाग्ने अवस्था छ । कतै मुआब्जा दिने, कतै नदिने अन्याय हुन्छ, मुआब्जा नदिए धेरै नागरिक घर न घाटको हुने अवस्था छ”, सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठ भने ।