आर्थिक

अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग

नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग प्राप्त भएको छ ।

नेपालगञ्जका प्रतिष्ठित व्यक्तिहरुको मर्निङवाक समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त रकम केन्द्रलाई प्राप्त भएको हो ।

केन्द्रमा सोमबार आयोजित कार्यक्रममा देउसीभैलो समूहका संयोजक एवं नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले केन्द्रका अध्यक्ष सरिता खनाललाई रु दुई लाख ७५ हजारको बैंक दाखिलाको भौचर र रु २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

सो अवसरमा डा कनौडियाले मर्निङवाक समूहका तर्पmबाट भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चपागाईंले मर्निङवाक समूहको यो सहयोग मानवीय भावनाले ओतप्रोत छ भन्नुभयो । निलसागर केन्द्रमा हाल ३८ असहाय वृद्धवृद्धा तथा बालबालिका छन् । मनकारीको सहयोगले केन्द्रको खर्च चलिरहेको अध्यक्ष खनालले बताए ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफ्नो एक महीनाको तलबभत्ता यहाँका मुस्लिम अनाथ बालबालिकालाई प्रदान गरे ।

चुनावका बेला आफूले पाउने तलबभत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नुभएका नगरप्रमुख राणाले सोमबार स्थानीय गौसिया जाउल इस्लाम मदरसामा अध्ययनरत अनाथ बालबालिकालाई रु ५० हजार सहयोग गरे ।

नगरप्रमुख राणाले जाडोमा न्यानो लुगा÷कपडा किन्नका लागि सो रकम प्रदान गर्नुभएको बताउनुभयो । मुस्लिम समुदायका अगुवासहितको उपस्थितिमा भएको कार्यक्रममा डा राणाले सो रकम बराबरको चेक मदरसाका अध्यक्ष मोहम्मद याकुम हलवाइलाई हस्तान्तरण गरेका थिए ।

यसअघि नगरप्रमुख राणाले यहाँका करीब १० संस्थालाई आप्mनो तलबभत्ता उपलब्ध गराइ सकेका छन् ।