कर्णाली प्रदेश

यसरी पर्दैछ दिनानुदिन भैँसीपालन व्यवसाय सङ्कटमा

जाजरकोट । जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरण क्षेत्र नहुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको हो ।

लगानीअनुसारको प्रतिफल प्राप्त नहुँदा पनि यस व्यवसायप्रति किसानको आकर्षण घटेको हो । जिल्लामा बढ्दै गइरहेको वन अतिक्रमणले पनि भैँसीपालन व्यवसायमा समस्या पारेको छ । दिनप्रतिदिन वनजङ्गल मासिँदै गएपछि जिल्लाको तीन नगरपालिका र चार गाउँपालिकामा भैँसीपालन व्यवसाय पछिल्लो समयमा हराउँदै गएको छ ।

भैँसीका लागि चरण क्षेत्रको अभाव भएको कुशेगाउँपालिका–३ का भैँसीपालक किसान डम्बर थापाको भनाइ छ । यातायातको असुविधाका कारण ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या परेको छ ।

घीउ बनाउँदा लगानी अनुसारको प्रतिफल आउँदैन किसान थापाको गुनासो छ । १०÷१५ वर्ष अगाडिसम्म जिल्लामा भैँसी पालनको सम्भावना राम्रो थियो । “एक कृषकका घरमा १५ भन्दा बढी भैँसीपालन हुने गर्थे तर आजभोलि एक÷दुईवटा मात्र भैँसी पालेको देखिन्छ”, उनले भने ।

अन्य व्यवसाय भन्दा भैँसीलाई धेरै मेहनत गर्नुपर्ने र आम्दानी कमै हुने थापाको भनाइ छ । भैँसी पालनका लागि पकेट क्षेत्र मानिएको लहँ, डाँडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्लालगायत साविकका गाविसमा भैँसीको सङ्ख्या क्रमशः घट्दै गएको छ ।

युवा विदेशपलायन तथा अन्य पेश व्यवसाय लाग्दा जाजरकोटमा भैँसीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्दबहादुर सिंहको भनाइ छ ।

भैँसीपालक कृषकका लागि जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सञ्चालन नहुँदा यो पेशा सङ्कटमा परेको उनले बताए । स्थानीय सरकारले पनि भैँसीपालन गर्ने किसानका लागि विशेष कुनै कार्यक्रम ल्याउन नसकिएको गुनासो किसानको छ । उन्नत जातको भैँसीपालन भन्दा पनि रैथाने जातका भैँसीपालन गर्दा किसानले गरेको मेहनत अनुसारको प्रतिफल हात नपरेको पशु चिकित्सक बताउँछन् ।

‘पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालीम तथा प्रसार, व्यावसायिक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो व्यवसाय लोप हुँदै गएको देखिन्छ । भैँसीपालन व्यवसाय लोप हुँदा जिल्लामा दूध, दही तथा घिउको अभाव खट्किँदै गएको छ ।

पशु चौपायामा विभिन्न रोगको सङ्क्रमण हुँदासमेत समयमै पशुपक्षी शाखाबाट कृषकले सेवा पाउन नसकेको गुनासो कृषकको छ । भैँसीपालक कृषकले पशुपक्षी कार्यालयबाट कुनै पनि सहयोग नपाउने गरेको भन्दै शाहीले गाउँघरमा पनि सेवा पु¥याउन माग गरेका छन् ।

जाजरकोटमा पाँच सय भन्दा बढी भैँसीपालक कृषकले यो व्यवसाय गरेका छन् । जिल्लाका भेरी नगरपालिकामा रहेका सातवटा र नलगाड नगरपालिकामा रहेका दुईवटा दूध डेरी दूधकै अभावमा बन्द भइसकेका छन् । सदरमुकाममा मुस्किलले एउटा मात्र सञ्चालनमा छ भने अन्य ठाउँमा पूरै बन्द भइसकेको छ ।

जथाभावी भएको बन फँडानी र भैँसीपालक किसानलाई राज्यले विशेष व्यवस्था गरी आयआर्जनमा टेवा दिनसके जिल्लामा दूधको अभाव कम हुने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।