लुम्बिनी

सूचनाको संवाहक बन्दै स्थानीय एफएम

बेझाड । स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् । गाउँबस्तीका सूचना प्रवाह गर्ने भएकाले अहिले ग्रामीण भेगमा एफएम रेडियो सूचनाको संवाहक बनेका छन् ।

घरमै बसीबसी गाउँका खबर सुन्न पाउँदा आनन्द लाग्ने गरेको पाल्पा, निस्दी गाउँपालिका–४ मित्याल दुमिदमारका ५७ वर्षीय गेमबहादुर सोती बताउछन् । “गाउँमा के भइरहेको छ, सबै खबर सुन्न पाउँदा निकै आनन्द आउँछ”, उनले भने ।
एफएम रेडियोले मान्छे हराएकोदेखि गाउँघरका आमा समूहको भेला, बैठक, गोष्ठीलगायतका विविध खबर प्रसारण गर्ने हुँदा गाउँ बस्तीमा यसको राम्रो प्रभाव परेको छ ।

शहरउन्मुख क्षेत्रमा सूचना, सञ्चार, इमेल, इन्टरनेटको पहुँचका कारण एफएम रेडियो सुन्ने स्रोता कमै हुन्छन् । विकट र दुर्गम गाउँ बस्तीमा भने मेलापात र घाँस दाउरा गर्न जाँदा साथमै रेडियो बोकेर जाने चलन छ । घरमै बसीबसी गाउँकै घटना सुन्न र खबर दिन सजिलो भएको मित्याल मौलाथरकै जबरसिं सारु बताउछिन् । “काम गर्दै रेडियो सुन्दै गर्दा समय बितेको पत्तै हुँदैन्,” उनले भनिन्, “ मोबाइल राम्रोसँग प्रयोग गर्न पाइँदैन, रेडियो बजायो गाउँघरका खबर सुन्यो, बस्यो ।”

केन्द्रीयस्तरका सञ्चारमाध्यमले देश विदेशको खबर प्रसारण गर्ने हुँदा विकट र ग्रामीण भेगका बासिन्दाका लागि स्थानीय सञ्चारमाध्यम नै उपयुक्त रहेको मौलाथरका रुमबहादुर रानाले बताए । “गाउँघरमा हरेक दिन भएका खबर समेटेर रेडियोले प्रसारण गर्ने हुँदा ग्रामीण भेगका बासिन्दालाई सूचना प्राप्त गर्ने राम्रो माध्यम बनेको छ” उनले भने ।

सूचनाको पहुँच नपुगेको ठाउँमा रेडियोले राम्रो प्रभाव पारेको, रेडियो समुदायकै हो भन्ने आभास जनमानसमा पर्दै गएको सामुदायिक रेडियो रामपुरका अध्यक्ष वासुदेव देवकोटाले बताए । कालीगण्डकीबेँसी क्षेत्रमा हाल तीन एफएम रेडियो सञ्चालनमा छन् । यी रेडियोले ग्रामीण भेगमा राम्रो सूचना प्रवाह गर्दै आइरहेका छन् । गाउँका एफएम रेडियोले टोल बस्तीका हरेक दिनका गतिविधि प्रसारण गर्ने हुँदा दुर्गम र विकट गाउँका बासिन्दाका लागि सूचनाको राम्रो पहुँच पुगेको छ । ग्रामीण भेगका बासिन्दाका लागि एफएम रेडियो जीवनको एउटा साथी बनेको छ ।