गण्डकी प्रदेश

चितुवाको आक्रमणबाट बच्न विद्यार्थीलाई सचेतना

दमौली । चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि डिभिजन वन कार्यालय तनहुँले भानु नगरपालिका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले चितुवाको बानी व्यवहार, क्रियाकलाप र मानिसलाई आक्रमण गर्ने अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको हो । कार्यालयका प्रमुख केदार बरालले चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा दुई बालक र एक बालिकाको मृत्यु भएपछि विद्यालयस्तरमा पुगेर यसबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई जानकारी दिन थालिएको जानकारी दिए।

साँझ र बिहानको समयमा गाउँघरमै आई बालबालिकालाई आक्रमण गर्न थालेकाले चितुवाका विषयमा जानकारी गराई सुरक्षित रहने उपायबारे जानकारी गराइएको प्रमुख बरालले बताउनुभयो । उनले भने, “भानु नगरपालिका–३ स्थित जनजागृति माविबाट सचेतना कार्यक्रम शुरु गरेका छौं, अन्य विद्यालयमा समेत यस खाले कार्यक्रम सञ्चालन गर्छौ ।”

चितुवाले साँझको समयमा बालबालिका आक्रमण गरेको देखिएकाले सो समयमा जोगिनुपर्ने बताउनुभयो । उनले भने, “अँध्यारो भएको ठाउँमा र घरको आसपास झाँडी भएको ठाउँबाट यसले आक्रमण गर्ने देखिएकाले घरको आसपास उज्ज्यालो र झाँडी फँडानी गर्नुपर्ने उहाँले जानकारी दिए।

चितुवाको लम्बाइ सरदर दुई दशमलव १५ मिटर, उचाइ ६४ देखि ७८ सेन्टिमिटर, तौल ५० देखि ७७ किलोग्रामसम्म हुने प्रमुख बरालले बताउनुभयो । उहाँले चितुवाले जङ्गलभित्रको गुफामा बच्चा जन्माउने, प्रति घण्टा ५८ किमिका दरले दौडनसक्ने, यसको घाँटी, छाती, पेट र पछिल्लो खुट्टाको भित्री भागमा सेतो भूइँमा कालो थोप्ला हुने विद्यार्थीलाई जानकारी गराए ।