अन्तर्राष्ट्रिय

भारतीय तिर्थयात्री पाकिस्तान प्रस्थान

चकवाल । एकसय ३९ जना तिर्थयात्रु पाकिस्तानको चकवाल जिल्लास्थित श्री कतास राज धामको दर्शनका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

“जय कारा” को गुञ्जन सहितको यो समूह वाग्घा सीमाको बाटो हुँदै पाकिस्तान गएको हो । समूहका टोली नेता शिव प्रताप बजाजले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको कार्यकालमा धेरै मानिसलाई उक्त तिर्थस्थलमा भ्रमण गर्न चाहनेहरुलाई समेत भिसा नदिएको बताए । पाकिस्तानका हिन्दू समुदायमा कतास राजलाई निकै पवित्र तिर्थस्थल मानिन्छ । कतास नामको पोखरीको वरिपरि मन्दिरहरु रहेका छन् ।

छ दिने यस धार्मिक यात्राका क्रममा पाकिस्तानमा रहेका हिन्दूहरुसँग पुनर्मिलन कार्यक्रम समेत राखिएको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायुक्तले तिर्थयात्राका लागि डिसेम्बर ९ देखि १५ सम्मको भिसा दिइएको बताएको छ ।

हालैमात्र, इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान सरकारले भारत–पाकिस्तान सीमा सँगैको करतारपुर कोरिडोर निर्माणको शिलान्यास गरेको छ । यो मार्ग निर्माण भएपछि शिख धर्मावलम्बीलाई पाकिस्तानको करतारपुरस्थित ऐतिहासिक गुरुद्वारा दरबार साहिबको भ्रमणका लागि सिधा सम्पर्क खुल्नेछ । यो साहिबमा सन् १५३९ मा शिख धर्मगुरु गुरु नानकको देहान्त भएको थियो ।