सुदूरपश्चिम

अपाङ्ग दम्पतीको हारगुहार

भीमदत्तनगर । कमैयाबाट मुक्त ४० वर्षीय अपाङ्गता भएका रामबहादुर चौधरी २०५० को दशकमा साहुबाट लिएको ऋणको ब्याजस्वरुप झण्डै सात वर्ष हलिया बस्न बाध्य भए ।

बुबा विसरामले साहुबाट लिएको रु १० हजार ऋणको ब्याजस्वरुप आफूले काम गरेको बताउँदै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी मुक्तकमैया शिविरका चौधरीले हलियामुक्त भए पनि दुःखको भारी बिसाउन नसकिएकामा निराश हुन्छन् ।
आफूसित भएको जमीन मछेली नदीमा बालुवा भरिएपछि गत वर्षदेखि अधिँया गर्नेले पनि छाडेको उनले बताएका छने । “खेत पनि गत वर्षदेखि बाँझै छ,” उनले भने “अहिले परिवारको छाक टार्न पनि समस्या हुँदैछ ।” चार छोरीका बाउ रामबहादुरकी श्रीमती मुन्नी पनि अपाङ्ग नै हुनुहुन्छ । दुवै जनाको हिँड्डुलको सहारा ह्विलचियर छ । गरीबीले च्यापेका दुवै जना घरको दुःख सम्झेर डाँको छाड्ने गरेका छन् ।

गत वर्ष हरियो वन कार्यक्रममार्फत १५ दिन मुडा बनाउने तालीम लिएकी मुन्नी चौधरी घरको वेदना सुन्ने समेत कोही नभएको बताएकी छन् । “अस्ति मात्रै दुईवटा मुडा बेचेर ११ किलो चामल किनेर ल्याएको छु,” उनले भावुक हुँदै भने, “आफूसित रु एक हजार होला र ३० किलोको चामलको कट्टा किनौलो सोचेको धेरै भइसक्यो ।” उहाँले चामल किन्नसमेत गाउँमा ऋण नपाएको दुखेसो पोख्नुभयो ।”

शारीरिक अवस्था मध्यमखालको हुँदा भीमदत्तनगर बजारस्थित एक होटलमा केही वर्ष मजदुरी गरेका रामबहादुर विगत पाँच वर्षयता पूर्णरुपमा अशक्त भएपछि श्रीमती मुन्नीसितै मुडा बनाउने काममा सघाउँदै आएका छन् । “मुडा पनि गाउँमै बिक्दैन, सस्तोमा खोज्छन्,” उनले भने, “मुडा बनाउने बासको समेत समस्या हुन थालेको छ ।”
पूर्व–पश्चिम राजमार्गको छेउमा मुडा बनाउने व्यवसाय थालेका चौधरी दम्पतीलाई छोरीहरुको परीक्षा शुल्क बनाउन पनि कठिन छ । दुवै जनालाई मासिक रु ६०० अपाङ्गता भत्ता मिल्ने गरेको छ । शिविरकै स्थानीयवासी विष्पति चौधरीले अपाङ्ग दम्पतीको परिवार गरीबीका कारण भोक बस्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।