समाचार

नागरिकताविहीन बालबालिकाले पाए जन्मदर्ताको प्रमाणपत्र

फिदिम। बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका यहाँस्थित एकै परिवारका चार बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

गरीबी, अशिक्षा र अज्ञानताका कारण नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका पाँचथरको हिलिहाङ गाँउपालिका–७ साम्मेवाका चन्द्रलाल बराइलीका चार छोराछोरी वर्सिना, करिश्मा, सन्तोष र दीपक बराइलीले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको समन्वयमा चारैजना बालबालिकालाई जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा चारै बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र बनाउन सकेका थिएनन् । जन्मदर्ता नहुँदा चन्द्रलालकी जेठी छोरी वर्सिनाले चार वर्षदेखि कक्षा दोहो¥याउँदै आएकी थिइन । सरकारी निकाय, सङ्घ संस्था तथा स्थानीय अगुवाहरुले बाबुुआमाको नागरिकताको प्रमाणपत्र तथा छोराछोरीको जन्मदर्ताको प्रमाणपत्रका लागि पहल गरेकी थिइन। जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसहित जनप्रतिनिधि तथा प्रशासक वराइलीको घरैमा पुगेर परिवारको अवस्था बुझेकी थिइन ।

विपन्न वराइली परिवारकी जेठी छोरी वर्सिना यस शैक्षिक सत्रमा स्थानीय रुद्र तामाङको घरमा बसेर सिद्धेश्वरी माध्यमिक विद्यालय हिलिहाङमा कक्षा–८ मा अध्ययन गर्दै आएकी छिन् । परीक्षा फारम भर्न जन्मदर्ताको प्रमाणपत्र चाहिएपछि विगतमा उनले पढाइ नै छोड्नुपरेको थियो । जन्मदर्ता नहुँदा वर्सिनाका जेठा भाइ सन्तोषले पढाइलाई निरन्तरता दिन सकेनन् । वर्सिनाकी बहिनी करिश्मा छिमेकीको सहयोगमा कक्षा ६ मा अध्ययनरत छिन् । उक्त परिवारलाई विभिन्न सहयोगी व्यक्ति, संस्था तथा निकायले करीब रु ५० हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् । खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत आवश्यकीय सामग्री प्रदान गरिएको हो ।