स्वास्थ्य

बुवाको जन्मदिनमा स्वास्थ्य शिविर

घोराही । पूर्व भारतीय क्याप्टेन मनबहादुर पुनमगरको ८८औँ जन्मदिनका अवसरमा उहाँका छोराहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । घोराही उपमहानगरपालिका–१४ ढोडेनी निवासी पुनमगरको जन्मोत्सवमा मनबहादुर पुनमगरका छोराहरुले एकदिने स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

शिविरमा स्थानीय ढोडेनी टोल विकास समिति र अन्य टोलका स्थानीयवासीलाई लक्षित गरी शिविर आयोजना गरिएको पुनका माइला छोरा नरेन्द्र पुनले जानकारी दिए । शिविरमा दन्त र आँखाबाहेक सबै रोगको स्वास्थ्य जाँचको व्यवस्था गरिएको थियो ।

स्वास्थ्य शिविरमा पुनमगरका छोरा डा बसन्त पुनमगर, डा सुवर्ण पुनमगरले सहभागीको स्वास्थ्य जाँच गरेका थिए । यसअघि ढोडेनीको गुम्बा परिसरमा रु ४५ लाख खर्च गरेर मनदिल भ्यूटावर निर्माण गर्नुभएको पुन परिवारले फेरि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

बजारदेखि नजिकै रहेको ढोडेनीमा यसअघि स्वास्थ्यका कुनै पनि शिविर भएका थिएनन् । शिविरको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीले जन्मदिनका अवसरमा रचनात्मक कार्य गरेकामा धन्यवाद दिएका थिए ।