राजनीति

ओली सरकारले देश र जनताका पक्षमा एकरतिपनि काम गर्न सकेनः उपसभापति निधि

भक्तपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उनले सरकारले जनहितका पक्षमा काम गर्न नसकेको आरोप लगाएका हुन् ।

नेता निधिले हत्या, हिंसा, बलात्कार र महङ्गी बढ्दा पनि सरकार मौन बसेको आरोप लगाउँदै काङ्ग्रेसले रचनात्मक सक्रिय र सशक्तरुपमा प्रतिपक्षका भूमिका निर्वाह गर्न नसकेको बताए ।

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएको जिकिर गर्दै उनले आसन्न महासमितिको बैठकपछि काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गरे ।

नेपाली काङ्गेसका नेता गगन थापाले काङ्ग्रेस पार्टीभित्र कठोरता र क्रुरतापूर्वक छलफल र चिन्तन गरी काङ्ग्रेस विगतमुखी मात्र नभएर एकजुट भएर नयाँ बाटो अवलम्बन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमलीलगायतले काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका भक्तपुरका पूर्वअगुवालाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।