राजनीति

‘सबैको काङ्ग्रेस, सधैंको काङ्ग्रेस’ अभियानले काँग्रेस शुद्धिकरण हुन्छः नेता गुरुङ

काठमाडौँ । ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” उनले भने ।

नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गरे । उनले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताए।

अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहो¥याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान शुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताए । अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।