खेलकुद

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा सङ्कटाले न्यूरोड टिम एनआरटीलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी म्यासवेलले गोल गर्दै सङ्कटालाई विजयी बनाए ।

जीतपछि सङ्कटा सात खेलबाट १८ अङ्क जोड्दै शीर्षस्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । एनआरटी तालिकाको पुछारमा यथावत् रह्यो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

यसअघि सोही मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । लिगको सातौं चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । ३२औं मिनेटमा तेज तामाङको पासलाई सदुपयोग गर्दै भरत साहले पुलिसलाई अग्रता दिलाएका थिए । तर हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको ७०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पुलिस सात खेलबाट ११ अङ्क जोडेर तालिकाको पाँचौं स्थानमा छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटौं स्थानमा छ । हिमालयन शेर्पाका विश्वास ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।