अन्तर्राष्ट्रिय

ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल । ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार विहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उत्तरपूर्वी ब्राजिलमा शुक्रबार शुक्रबार विहानै भएको उक्त आक्रमणमा छ जना लुटेराको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि ज्यान गएको सेयरा राज्यको मिलाग्रेस शहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्यूजले बताएको छ ।

सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ ।