सूचना प्रविधि

सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस्ः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले भने, “कसैको आलोचना गर्नकै लागिभन्दा तथ्यमा आधारित भएर समाजको सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् ।”

सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रण गरी मुलुकको आर्थिक समृद्धिका लागि पत्रकार लड्नुपर्ने दिन आएको उल्लेख गर्दै त्यसका लागि सहयोग गर्न सरकार सधैँ तयार छ भने ।

उनले देशमा ठूलाठूला आन्दोलनले मुलुकमा शान्ति आएको र शान्ति आएसँगै समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै अब नयाँ पुस्ताले पहिलेको जस्तो सास्ती खेप्न नपर्ने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रताका लागि सरकारलाई गम्भीर बनिदिन आग्रह गरे ।

साधारणसभाले सीताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा इन्द्र बानियाँ, राजेश बर्मा र छविलाल बगाले, महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की, कोषाध्यक्षमा रोयल आचार्य र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रीना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणीन्द्र दाहाल सर्वसम्मतले निर्वाचितभएका छन् ।