कृषि

धान धितो कार्यक्रम लागू

बुटवल । खेतीयोग्य जमीन मासिने र नासिने क्रमले कृषिकर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन बुटवल उपमहानगरपालिकाले किसानको धान धितो कार्यक्रम लागू गरेको छ ।

उपमहानगरपालिकाले ल्याएको यस किसिमको कार्यक्रमबाट किसानले आफूले उत्पादन गरेको धान वित्तीय संस्थामा धितो राखेर कृषि ऋण प्राप्त गर्न सक्नेछन् ।

अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक बीउबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताएका छन् ।

किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम यस क्षेत्रको नयाँ अभियान हो । धानखेतीका लागि उपयुक्त योजनाअनुसार बुटवल उपमहानगरपालिका वडा नं १४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमहानगरपालिका बीचमा समझदारी गरिएको छ ।

बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानले उत्पादन गरेको धान उचित भण्डारणको अभावमा उचित मूल्यविना नै बिक्री गर्दै आएका थिए । अब किसानले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोका रुपमा राखेर कृषि ऋण लिन पाउँछन् । त्यस क्षेत्रका करीब तीन हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ती खेतमा सिँचाइकोसमेत प्रबन्ध छ ।

किसानहरु आपसमा सहमतिमा आएका ‘एक गाउँ एक बस्ती’ बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाले लिएको उपप्रमुख गुमादेवी आचार्यले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानको समस्यालाई सामाधान गर्नका लागि पहिलो चरणमा किसानको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको उल्लेख गर्दै अब प्रोत्साहनका नयाँ कार्यक्रम बनाइने बताएका छन् ।

आगामी दिनमा अन्य गहुँ, दालजन्य कृषिउपजसमेत भण्डार गरी किसानलाई ऋण उपलब्ध गराउने तयारी गरिएको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्नेछ । यसका लागि नगरपालिकाले रु दुई लाख ५० हजारको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसानले यसरी भण्डारण गरेको धानलाई धितोका रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्तापश्चात् किसानले आफ्नो धान बिक्री गर्न पाउने सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाह मगरले जानकारी दिए । दश कट्ठा क्षेत्रफल रहेको सहकारीले २५० मेट्रिकटनको खुला सेड निर्माण गरेको छ भने एक हजार ७५० मेट्रिकटन क्षमताका दुई वटा गोदाम घर निर्माण गरेको छ ।