समाचार

ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दैः वृद्धाश्रममा बस्नुपर्ने बाध्यता

काठमाडौँ । ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ ।

ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको अध्ययनले देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र र स्याहार केन्द्रसम्बन्धी अध्ययन प्रतिवेदन–२०७५’ मा ज्येष्ठ नागरिकले आफ्ना परिवारबाट टाढा रहेर वृद्धाआश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश वस्तीले प्रतिवेदन सार्वजनिक गर्दै भने, “ज्येष्ठ नागरिक निकै पीडामा छन्, सरकारले वृद्धाश्रम निर्माणका लागि लगानी गरेको छ तर लगानीअनुरुरूप प्रभावकारी अपेक्षित देखिँदैन ।”

मुलुकमा पश्चिमा संस्कृति प्रभाव बढ्दै जानु र युवाशक्ति अध्ययन वा रोजगारीका क्रममा विदेशिँदा पनि जेष्ठ नागरिक वृद्धाश्रममै बस्न विवश छन् । अध्ययनले समयमै सचेत नभए भविष्यमा यसले विकराल रूप लिने खतरा रहेको बताएको छ । आयोगले २०७४ चैतदेखि २०७५ असोजसम्म ४९ जिल्लामा ८६ वृद्धाश्रम, ३० दिवा सेवा केन्द्र र छ स्याहार केन्द्रको प्रत्यक्ष अनुगमन गरेको थियो ।

वृद्धाश्रम (आवासीय प्रबन्ध) कल्पवास (आफ्नै खर्चमा धार्मिकस्थलमा कुटी बनाई वा सम्झौतामा लिई आफैँ व्यवस्थापन गरी बस्नु) दिवा सेवा केन्द्र (आफ्नै भरमा बस्ने, खाने, सुत्ने र दिनमा भेट्ने) र स्याहार केन्द्र (अशक्त वा विदेशमा परिवार रहेका ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बस्ने ठाउँ) का बारेमा आयोगले अध्ययन गरेको हो ।

नेपालको जनगणना २०६८ सालका अनुसार नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ५४ हजार तीन थियो । तर बढ्दो औसत आयु र घट्दो जन्मदरका कारण तीनदेखि तीन दशमलव पाँच प्रतिशतसम्म ज्येष्ठ नागरिकको सङ्ख्या बढेको अध्ययनले देखाएको छ ।

विसं २०७५ कात्तिक मसान्तसम्म ज्येष्ठ नागरिकको सङ्ख्या २५ देखि २८ लाखसम्म भएको प्रक्षेपण गरिएको छ । देशभर ६४ जिल्लामा १४१ वृद्धाश्रम छन् । ती वृद्धाश्रममा एक हजार ५७७ जना रहेका छन् । त्यसमध्ये महिला बढी रहेका छन् । महिला ९६५ र पुरुष ६१२ रहेका छन् । दुई वटाबाहेक सबै वृद्धाश्रमका आफ्नै भवन छन् । छ वटा स्याहार केन्द्र भाडामा सञ्चालन भएका छन् भने नौ वटा दिवा सेवा केन्द्रका आफ्नै भवन रहेका छन् ।